काठमाण्डौं । भिजिट भिसा दुरूपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति बन्नुपर्ने माग राखेर विपक्षी दलले दुई सातादेखि अवरुद्ध गर्दै आएको प्रतिनिधिसभा बैठक शुक्रबार सञ्चालन भएको छ। विपक्षी दलमध्ये नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्तापक्षसँग दुई बुँदे सहमति गरेपछि बैठक सञ्चालन भएको हो। अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सहमतिमा असहमति जनाउँदै नाराबाजी गरिरहेकै बेला बैठक चलाइएको हो
बैठक सञ्चालनसँगै सभामुख देवराज घिमिरेले गृहमन्त्री लेखकलाई बोल्न रोष्ट्रममा बोलाएपछि रास्वपाका सांसदले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए। रास्वपाको नाराबाजीबिच रोष्ट्रममा पुगेका गृहमन्त्री लेखकले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै प्रमाणित गरेर देखाउन चुनौती दिए। उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा दुरूपयोग प्रकरणमा अनुसन्धान गरिरहेकाले उसलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको लेखकले बताए। ‘भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन, हुन सक्दैन। यसबारे अख्तियारले छानबिन गरिराखेको छ। संवैधानिक निकायलाई कमजोर पार्ने कार्य कतैबाट गरिन हुन्न भन्ने मलाई लागेको छ। म सार्वजनिक जीवन व्यतीत गर्दै आएको व्यक्ति हुँ। वर्षौं वर्ष चलेको भिजिट भिसाको कुरा रमेश लेखकको पालामा भन्नु गलत छ,’ उनले भने।
लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेलाई संकेत गर्दै नाराबाजी गर्ने पार्टीकै माननीय गृहमन्त्री भएका बेला धेरै नेपाली भिजिट भिसामा विदेश गएको बताए। उनले अपराधीलाई मुद्दा चलाएको प्रतिशोधमा आफ्नो राजीनामा मागिएको बताए। सधैं सालीन तरिकाले बोल्ने उनी शुक्रबार प्रतिनिधिसभामा निकै खरो रूपमा सुनिए।
उनले बोलिरहँदा रास्वपाका सांसदले वेल घेराउ नाराबाजी गरिरहेका थिए। उनीहरूलाई मर्यादापालकले घेराउ गरेका थिए। दुई बुँदे सहमतिमा विमती राखेको अर्को विपक्षी राप्रपाका सांसद भने सिटबाट उठेका थिए। प्रतिनिधिसभामा बोल्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्रीको राजीनामा मागेका थिए। सदन सुरु भएपछि सभामुखले क्रमशः माओवादी केन्द्र, रास्वपा र राप्रपालाई बोल्न दिएपछि गृहमन्त्रीलाई रोष्ट्रममा बोलाएका थिए।
माओवादी केन्द्रसहितको विपक्षी दलले भिजिट भिसा दुरूपयोग प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गरेर सदन अवरुद्ध गर्दै आएका थिए। सत्ता पक्षसँग दुई बुँदे सहमति भएपछि माओवादी केन्द्र शुक्रबार सदन सञ्चालन गर्न राजी भएको हो। यसमा नेकपा एकीकृत समाजवादीले पनि साथ दियो।
रास्पा सहमतिमा आउन तयार नभएपछि सत्तारुढ दलका तर्फबाट एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र विपक्षी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन्। माओवादी केन्द्रले रास्वपालाई सहमतिमा ल्याउन भिजिट भिसा दुरूपयोगमा छानबिन समिति बनाउन लिखित प्रतिबद्धता गर्नेसम्मको प्रस्ताव राखेको थियो। यसमा रास्वपा सहमत भएन। रास्वपालाई छाडेर माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलाई लिएर दुई बुँदे सहमति गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रतिनिधिसभामा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक पाण्डेले प्रतिनिधिसभा अवरुद्ध हुँदा जनताले भोग्नुपरेका समस्या समाधानका लागि माओवादीसहित नेकपा एकीकृत समाजवादीलगायतका दलबीच सहमति भएको बताए।
दुई बुँदे सहमतिमा अख्तियारले भिजिट भिसा प्रकरणमा गरिरहेको छानबिनमा सरकारले सहयोग गर्ने र भिजिट भिसामा विगतदेखि देखिएका समस्या समाधान गर्न सरकारले आवश्यक अध्ययन, छानिबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था मिलाउने प्रतिबद्धता गर्ने उल्लेख छ।
रास्वपा र राप्रपाले विरोध गरे पनि सदन अघि बढाउन माओवादी केन्द्र तयार भएपछि अपराह्न ४ बजेर ४५ मिनेटमा प्रतिनिधिसभा बैठक सुरु भएको थियो। दिउँसो १ बजे बोलाइएको पहिलो बैठक सूचना जारी गरेर सवा तीन बजेलाई सारिएको थियो। त्यसको पौन दुई घण्टापछि बल्ल बैठक सुरु भएको थियो। अपरान्ह ५ बजेर १६ मिनेटमा सभामुखले गृहमन्त्रीलाई बोल्न रोष्ट्रममा बोलाएका थिए। उनले ३४ मिनेट बोले।
वैशाख १२ गतेदेखि सुरु संसद्को बर्खे अधिवेशन भिजिट भिसा प्रकरणले जेठ १३ यता अवरुद्ध हुँदै आएको थियो। जेठ १५ गते भने सरकारले सदनमा बजेट पेस गर्नुपर्ने भएकाले विपक्षीले बैठक सञ्चानमा अवरोध गरेनन्। बजेट पेस गरेपछि बैठक बस्न नसक्दा बजेटमाथिको छलफल प्रभावित भएको छ।
अख्तियारले जेठ ७ गते त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेर गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि भिजिट भिसा प्रकरणले मुलुकी राजनीति गर्माएको हो। जेठ ५ गतेसम्म विमानस्थल अध्यागमन कार्यालयको प्रमुख रहेका भट्टराई जेठ ६ गते गृह मन्त्रालयमा सरुवा भएका थिए।
सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाएको भन्दै अख्तियारले अध्यागमन कार्यालयमा छापा मारेको थियो। यसमा गृहमन्त्री पनि सामेल भएको भन्दै विपक्षी दलले छानबिन र राजनीनामाको माग राखेर संसद् अवरुद्ध गरेका हुन्। कांग्रेसका केही नेताले पनि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका थिए। सदन खुलाउन कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पछिल्ला चार दिन निकै सक्रिय देखिएका थिए।