काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको खुलेको छ । अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो । उक्त जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ ।
२४२ यात्रु सवार एयर इन्डियाको ड्रिमलाइनर विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ । लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । विमानमा १५० भन्दा बढी यात्रु रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
भारतको सरकारी समाचार एजेन्सी पीटीआईले सरदार बल्लभ भाइ पटेल विमानस्थल नजिक आगोको मुस्लो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै विमान दुर्घटनाको पुष्टि गरेको छ ।