अमेरीका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति उद्यमी एलन मस्कसँग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन्। शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले मस्कसँगको बिग्रेको सम्बन्ध सुधार्न आफूले नचाहेको स्पष्ट पारेका हुन्। आफ्नो प्रमुख घरेलु नीतिमाथि मस्कले सार्वजनिक रूपमा आलोचना गरेपछि चिसिएको सम्बन्धबारे सोधिएको प्रश्नमा ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।
एनबीसी न्युजले ‘के तपाइँहरूको घनिष्ठ सम्बन्ध अब सकिएको हो ? ’ भनेर सोध्दा ट्रम्पले भने, ‘म त्यस्तै अनुमान गर्छु, हो।’ बिग्रेको सम्बन्ध सुधार्न चाहनुहुन्छ कि भन्ने प्रश्नमा उनले ‘चाहन्नँ’ भनी जवाफ दिए। कुनै समय ट्रम्पको चुनावी अभियानमा लाखौं डलर सहयोग गरेका र ह्वाइट हाउसका सल्लाहकारसमेत बनेका मस्कले राष्ट्रपतिको प्रमुख कर तथा खर्च विधेयकको सार्वजनिक आलोचना गरे। त्यसपछि सामाजिक सञ्जालमा यी दुईबीचको विवाद उत्कर्षमा पुगेको थियो। उपराष्ट्रपति जेडी भान्सले समेत मस्क ‘अत्यधिक आक्रामक’ भएको र अब उनलाई पुरानो सम्बन्धमा फर्काउन गाह्रो हुने बताएका थिए।
टेस्ला र स्पेसएक्सका सीईओ मस्कले हप्तौंदेखि ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ भनिने विधेयकको आलोचना गर्दै आएका थिए। उनले यो विधेयक पारित भएमा राष्ट्रिय घाटा खर्बौं डलरले बढ्ने र सरकारी खर्च कटौती गर्ने आफ्नो प्रयासलाई कमजोर बनाउने बताएका थिए।सरकारी पदबाट राजीनामा दिएलगत्तै मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मा उक्त विधेयकलाई ‘घृणित र वितृष्णाजनक’ भनेका थिए। त्यसको जवाफमा ट्रम्पले आफू मस्कको व्यवहारबाट ‘निराश’ भएको बताए।
त्यसपछि मस्कले ‘एक्स’ मा श्रृंखलाबद्ध पोस्ट गर्दै आफूविना ट्रम्पले चुनाव हार्ने दाबी गरे र उनलाई यौन दुर्व्यवहारको आरोप लागेका जेफ्री एपस्टिनको फाइलमा मुछिएको आरोपसमेत लगाए। पछि उनले उक्त पोस्ट हटाएका थिए र एपस्टिनका वकिलले पनि सो आरोपको खण्डन गरेका छन्। यसको प्रतिक्रियामा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा मस्क ‘पागल’ भएको टिप्पणी गरे र उनका कम्पनीहरूलाई दिइएको संघीय सरकारी ठेक्का रद्द गर्ने धम्कीसमेत दिए।
शनिबारको अन्तर्वार्तामा ट्रम्पले मस्कले ‘राष्ट्रपतिको पदको अपमान गरेको’ बताए। विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले अब आउने मध्यावधि चुनावमा ट्रम्पका विरोधीहरूलाई समर्थन गर्न सक्ने संकेत दिएका छन्। यदि मस्कले रिपब्लिकनविरुद्ध लड्ने डेमोक्रेटिक उम्मेदवारहरूलाई समर्थन गरेमा उनले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी ट्रम्पले दिएका छन्।