काठमाडौँ । गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणका कारण प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल हुने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बदमासीबारे प्रचण्डले देउवासँग कुराकानी गर्न लागेका हुन् । प्रतिपक्षी दलहरूको शुक्रबार संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठकले संसद्को गतिरोध अन्त्यका कांग्रेस सभापति देउवासँग प्रचण्डले छलफल गर्ने निर्णय गरेको थियो ।
आज मात्रै प्रचण्डले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर काकी र प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका थिए । त्यसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले संसद्को गतिरोध अन्त्यका लागि देउवासँग छलफल गर्ने बताएका थिए । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि प्रचण्ड र कांग्रेस सभापति देउवाबिच संसद्को गतिरोध अन्त्यका लागि छलफल हुने बताए । समय भने निश्चित भई नसकेको उनको भनाइ छ । उनीहरूबिच छिटै भेटवार्ता हुने कार्कीले बताए ।
सहमति गर्ने प्रयासमा सत्तारुढ दल र प्रतिपक्षी दलहरू लागेपछि प्रतिनिधिसभा बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ । प्रतिपक्षीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै आएका छन् ।