जनकपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । आज पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले आलोपालोको सहमतिअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।
सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए । ‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ’, उनले भने ।
त्यस अवसरमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेस प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।