काठमाडौं । नेपालको उच्च हिमाली क्षेत्रका गाउँबस्ती अहिले रित्तो जस्तै देखिएका छन् । हिउँ पग्लिएर खाली भएका नागी पाटनहरुमा यार्सा गुम्बा टिप्न गाउँलेहरु गएपछि गाउँ रित्तो भएको हो । गाउँमा अशक्त, सुत्केरी, बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन् । मुगुको मुगुम कर्मारोङ गाउँमा पुग्दा यस्तै दृश्य देखियो ।
मुगु जिल्लाको विकट मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ८ माँग्रीमा कक्षा एकमा अध्ययनरत सोनाम छिरिङ लामालाई साथीहरु ‘किरा कोर्न’ गएपछि स्कुल बिदा भएको थाहा छ । तर ‘किरा कोर्ने’ भनेको के हो भन्नेमा उनी अनविज्ञ छन् । उच्च हिमाली क्षेत्रका पाटनहरुमा पाइने यार्सागुम्बा टिप्ने कामलाई स्थानीय भाषामा ‘किरा कोर्ने’ भन्ने गरिन्छ । मुगु लगायत हिमाली तथा पहाडी जिल्लाका स्थानीयहरु जेठको दोश्रो सातादेखि एक महिनासम्म उच्च हिमाली क्षेत्रमा ‘किरा कोर्न’जाने गर्दछन् । त्यस क्षेत्रमा मुख्य आय आर्जनको स्रोत नै यार्सागुम्बा हो । सिजनमा सबै यार्सा टिप्न जान्छन् । सबै किरा कोर्न गएका कारण विद्यालय बन्द छ । गाउँ रित्तो भएको छ ।
मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई मांग्रीमा सामाजिक परिचालकको रुपमा काम गर्दै आएका ठिल्ले लामाले गाउँमा साना नानी भएका महिला, बालबालिका र वृद्धवृद्धा मात्रै रहेको बताए । ‘१०र१२ देखि ५०र६० वर्षसम्मका मान्छेहरु हिँडिसके यार्सा टिप्नका लागि । ठ्याक्कै एकमहिना गाउँ सुनसान हुन्छ । असार १३ गते पछि गाउँ फर्कन्छन्,’ उनले भने, ‘विद्यालयहरु अहिले बन्द छन् । विद्यालय शिक्षामा अझै पनि कसैले चासो दिएको देखिँदैन ।’
स्वास्थ्यकर्मी नुर्बूछिरिङ लामा पनि गाउँमा बच्चा, बच्चाका आमा र केही कर्मचारीबाहेक सबै यार्सा टिप्न गएको बताउँछिन् । उनले भनिन्, ‘गाउँका आधाजसो घरमा ताल्चा लागेको छ । परिवारै यार्सागुम्बाा टिप्न गएका छन् । आयआर्जनको स्रोत यार्सागुम्बा र ज्यालामजदुरी हो । ’ मांग्रीको छिमेकी गाउँ छायलाका स्थानीय पनि यार्सा टिप्न गएका छन् । गाउँमा महिला र साना बालबालिका मात्रै छन् । एकाध विद्यालय सञ्चालनमा छन् तर विद्यार्थी छैनन् । सञ्चालनमा रहेका विद्यालयमा पनि ९ वर्ष मुनिका बालबालिकाहरु मात्रै भेटिन्छन् ।
यस वर्ष जेठ १३ गतेदेखि यार्सागुम्बा टिप्न खुला गरिएको थियो । १२ गतेदेखि नै मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायतका अधिकांश विद्यालय बन्द छन् भने गाउँहरु पनि सुनसान हुन थालेका छन् । एकाध सञ्चालनमा आएका विद्यालयमा पनि प्राथमिक तहका विद्यार्थी मात्रै आउने गरेको पाइन्छ । माटोमुनि पाइने यार्सागुम्बा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि अर्थोपार्जन र पारिवारिक अर्थचक्रको महत्वपूर्ण पक्ष हो । हरेक सिजनमा यही संकलन गरेर हिमाली क्षेत्रका बासिन्दाले आम्दानी गर्दछन् । औषधिजन्य गुणयुक्त यार्सागुम्बा आपूर्ति गर्नेमा चीन पछि नेपाल दोस्रो मुलुक हो । यसको प्रमुख बजार चीन हो । यकिन तथ्यांक नभए पनि पूर्वी नेपालको अलँैची सरह नै पश्चिम नेपालको हिमाली क्षेत्रबाट यार्सागुम्बा निर्यात हुने गरेको पाइन्छ ।
नेपाल राष्ट्र बैंकले २०७२ मा गरेको अध्ययनले पनि हिमाली र उच्च पहाडी जिल्लाका बासिन्दाको सामाजिक आर्थिक क्रियाकलाप अभिवृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान हुन यार्सागुम्बाले सहयोग गरेको उल्लेख छ । सो अध्ययनमा आर्थिक वर्ष २०७०र२०७१ मा नेपालका ११ जिल्लामा ४ अर्ब ९२ करोडको यार्सागुम्बा संकलन गरिएको अनुमान गरिएको थियो । यार्सागुम्बा संकलनका लागि मुख्य केन्द्रका रुपमा रहेका दार्चुला, डोल्पा, जुम्ला, बझाङ्ग र मनाङमा अध्ययन केन्द्रित थियो । ( न्युज एजेन्सी नेपाल )