काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनको विषयलाई प्राथमिकता राखेको प्रवक्ता अग्नि सापकोटाले बताए ।
उनले भने, ‘हामीले व्यक्ति विशेष कुरा गरेका छैनौँ । मुख्य कुरा छानबिनको हो । सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भनेर कुरा भइरहेको छ । सरकारसित र विपक्षी पार्टीहरूसँग कुराकानी गर्छौँ ।’ सरकारले आफ्ना मागहरूलाई कसरी लिन्छ भन्ने कुरामा निर्भर हुने बताए ।
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिन समितिको माग राख्दै सदन अवरोध गरिरहेका छन् । पछिल्लो समय माओवादी गृहमन्त्रीको राजीनामा नआए सरकारले छानबिन समितिको प्रतिबद्धता जनाए पनि सदन खोल्न तयार देखिएको छ । जुन कुरा प्रवक्ता सापकोटाको अभिव्यक्तिले पनि पुष्टि गर्छ ।
उनले आज गृहमन्त्रीको राजीनामाबारे भन्दा पनि छानबिन पार्टीको प्राथमिकतामा रहेको सुनाए । जिम्मेवार प्रतिपक्ष भएकाले रचनात्मक सिर्जनात्मक सहयोग गरेर जान तयार रहेको बताए । उनले विपक्षी दल र सरकारसँग वार्तापछि सदनबारे ठोस निर्णय हुने बताए ।