काठमाडौं। भिजिट भिसा प्रकरणले सदनको अवरोध जारी रहेको बेलामा गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने छलफलमा जुटेका छन् । संसद भवनमा नै दुई नेताबीच भलाकुसारी भएको हो ।
माओवादीले गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरोध जारी राखेको छ । तर, गृहमन्त्री लेखकले भने आफूले राजीनामा नदिने अडान लिएका छन् । बरु, उनले सदनमा आफ्नो कुरा राख्न पाउनुपर्ने माग गरेका छन् ।
आज दिउँसो १ बजेको लागि बोलाईएको प्रतिनिधिसभाको बैठक अहिले ३ बजिसक्दापनि बस्न सकेको छैन् । बैठक सुचारु गर्नको लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।
तर, सो छलफलमा सदनको अवरोध हटाउने विषयमा सहमति भएन । यही सन्दर्भमा गृहमन्त्री लेखक र माओवादी केन्द्रका नेता श्रेष्ठबीच छलफल भएको हो । उक्त भलाकुसारीमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कापनि मिसिएका थिए ।