काठमाडौँ, – प्रतिनिधि सभा बैठक सञ्चालनको विषयमा सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा प्रमुख सचेतकहरूका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया पनि सहभागी छन्।
सभामुखले आज दिउँसो १ बजेका लागि बैठक बोलाए पनि सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमति कायम नहुँदा गतिरोध कायमै रहेको छ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएका छन्। गृहमन्त्री रमेश लेखकको राजीनासमेत उनीहरूको मागमा रहेको छ। तर, सत्तापक्ष उक्त मागमा सकारात्मक नभएकाले संसद् अवरुद्ध भएको हो।
मंगलबार दुईपटक सूचना टाँसेर बैठक बस्न नसकेपछि सभामुख घिमिरेले आजका लागि पुनः बैठक आह्वान गरेका हुन्। यद्यपि, सत्ता र विपक्ष दुबै पक्ष आफ्ना अडानमा अडिग रहेकाले सहमतिको संकेत देखिएको छैन।