काठमाडौं। नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा बुधबार नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ। स्कटल्यान्डको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो ३–४५ मा सुरु हुनेछ। नेदरल्यान्ड्सको सामना गर्दा नेपाली टोली लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ।
पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो। नेदरल्यान्ड्स लिग–२ बलियो टोली हो। २० खेलमा २६ अंकका साथ नेदरल्यान्ड्स दोस्रो स्थानमा छ। नेपाल १३ खेलबाट ८ अंकका साथ सातौं स्थानमा छ। आठ टोली सहभागी लिग(२ आइसिसी विश्वकप २०२७ को छनोट प्रतियोगिता हो ।
सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार शाह, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव र रिजन ढकाल छन् ।