काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्वनिर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान स्थगित भएको छ । जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको थियो । तर मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित भएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले जानकारी दिए ।
‘कोशी प्रदेश लगायत मध्य पहाडी लोकमार्ग अन्तर्गत अत्याधिक पानी पर्ने सम्भावना रहेको मौसम विभागले जानकारी गराएको छ । धेरै ठाउँमा सडकहरू भत्किएका छन् । यी सबैलाई ध्यानमा राखेर आजदेखि २५ गतेसम्म हुने भनिएको अभियान हालका लागि स्थगित गरिएको छ’, पुनले जानकारी दिए ।
प्रतिकूल मौसमका कारण सोमबार माओवादीले जारी गरेको परिपत्रमा समेत अभियानको कार्यतालिका नराखिएको उनले बताए । पहिलो चरणको अभियान जेठ २ गतेबाट बैतडीको पाटन बजारबाट सुरु भएर पोखरामा आएर टुङ्गिएको थियो ।