काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) सहित प्रतिपक्षी दलहरुले संसद् अवरोध अन्त्य गर्न गृहमन्त्री रमेश लेखकको राजीनामा आउनुपर्ने बताएका छन् । आज ( मंगलबार ) बसेको प्रतिपक्षी दलको बैठकले गृहमन्त्रीको राजीनामाबाट टसमस हुन नहुने निष्कर्ष निकालेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक बसेको आजको प्रतिपक्षी दलको बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आएपश्चातको समयदेखि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय गरेको छ ।
त्यस्तै, वर्तमान गृहमन्त्री रमेश लेखकले छानबिनको परिणाम नआएसम्म र अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने र भिजिट भिसा प्रकरणबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर प्रतिबद्धता गर्नुपर्ने उनीहरुको तीन बुँदे माग छ ।
बैठकको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेको कार्यकक्षमा हुदै गरेको बैठकमा सहभागी हुन गएको रास्वपाका नेता तथा सांसद मनिष झाले बताए ।