काठमाडौं। करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ । तल्लोक्रमका ब्याटर करण केसी नायक बन्दा नेपालले यस वर्ष आइसिसी क्रिकेट विश्वकप लिग २ मा पहिलो जित हात पारेको छ। सोमबार राति सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको हो।
जितसँगै १३ खेलबाट आठ अंक जोडेको नेपाल तालिकामा सातौं स्थानमा उक्लिएको छ। नेपालभन्दा चार खेल बढी खेलेको स्कटल्यान्ड २० अंकसहित चौथो स्थानमा यथावत् छ। स्कटल्यान्डले दिएको २९७ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी रहँदा ९ विकेट गुमाउँदै पूरा गरेको हो। नेपाललाई जितका लागि अन्तिम ओभरमा ७ रन चाहिएको थियो। तर, म्याथ्यू वाटले २०औं ओभरको पहिलो बलमै सन्दीप लामिछानेलाई जर्ज मुन्सेबाट क्याच गराए। त्यसपछि वाटले वाइड बल दिए। दोस्रो बल उनले डट राखे। तेस्रो बलमा रिजन ढकालले १ रन लिए। चौथो र पाँचौं बलमा करणले समान दुई रन लिए। अन्तिम बल वाटले वाइड फ्याँक्दा नेपाल विजयी भयो।
नेपाललाई जित दिलाउन करणले सर्वाधिक ६५ रन बनाए। अविजित रहेका उनले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकासहित ५३ रन बनाए। गुल्शनकुमार झा ४२, भीम सार्की ४०, कप्तान रोहितकुमार पौडेल ३७ र आसिफ शेख २० रनमा आउट भए। स्कटल्यान्डका ब्रान्डन म्याकमुलनले सर्वाधिक तीन विकेट लिए। १० ओभर बलिङ गरेका उनले २ मेडनसहित ४७ रन दिए। माइकल लीस्क र ज्याक जर्भिसको नाममा समान दुई विकेट रह्यो। त्यसअघि पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो।
स्कटल्यान्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए। ७२ बल खेलेका उनले १२ चौका र एक छक्का प्रहार गरे। फिनले म्याकक्रियाथले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए। कप्तान रिची बेरिङ्टन ४०, माथ्य्यू क्रस ३९, ब्रान्डन म्याकमुलन १९, माइकल लीस्क १८ र जर्ज मुन्से १२ रनमा आउट हुँदा मार्क वाट १० रनमा अविजित रहे। नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान दुई विकेट लिए। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो। रिजनले सर्वाधिक ७८ रन खर्चिए। उनले १० ओभर बलिङ गरेका हुन्। समान ओभर बलिङ गरेका सोमपालले ६६ रन दिए।