काठमाडौं। नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा सोमबार स्कटल्यान्डसँग खेल्दैछ। यी दुईबीचको खेल अपरान्ह्र ३.४५ बजे सुरु हुनेछ। नेपालले यो खेलअघि स्कटल्यान्डको ए टोलीसँग दुई अभ्यास खेल खेलेको थियो। पहिलो खेलमा नेपाल १०२ रनले पराजित भएको थियो। अर्को खेल भने नतिजाविहीन भएको थियो। अंक तालिकामा स्कटल्यान्ड १६ खेलबाट २० अंक बटुल्दै चौथो स्थानमा छ। चार खेल कम खेलेको नेपाल भने स्कटल्यान्डभन्दा चार स्थान तल नै छ।
अंक तालिकामा कमजोर बन्दै गएको नेपालले १२ खेल सक्काउँदा जम्मा ६ अंक हात पारेको छ। लिग–२ को अंक तालिकामा नेपाल सबैभन्दा पुछारमा अर्थात आठौं स्थानमा छ। नेपालले अहिलेसम्म खेलेका १२ मध्ये २ खेल मात्रै जितेको छ। २० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ। २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छ।
चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ। समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ। त्यसपछि नामिबिया, युएई र नेपाल छन्। लिग(२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी–२० सिरिज पनि खेल्नेछ। लिग(२ को खेल जेठ १९ देखि हुनेछ भने टी–२० सिरिज असार २ देखि सुरु हुनेछ।