काठमाण्डौं । नेकपा ( एमाले) ले आज बजेटका बारेमा छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो १ बजे ल्होत्से हलमा हुने बैठकमा उपस्थित सबै सांसदहरूलाई जानकारी गराइएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेपछि एमलेले पहिलो पटक संसदीय दलको बैठक बोलाएको हो। संसदीय दलका प्रमुख सचेक महेश बर्तौलाका अनुसार सांसदहरूलाई बजेटका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलले स्पष्ट पार्ने छन्। बजेट विनियोजनका विषयमा कतिपय सांसदहरूमा भएका अस्पष्टता आजको बैठकले चिर्ने बर्तौलाले जानकारी दिए।
उनका अनुसार संसद र जनतामा बजेटप्रति एमालेको एउटै धारणा बनाउने उद्देश्यले आजको बैठक डाकिएको हो। आजको बैठकमा बजेटका विषयमा स्पष्ट भएर आफ्ना धारणा सदनमा राख्न प्रधानमन्त्रीले सांसदहरूलाई निर्देशन दिने छन्।