काठमाण्डौं । यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
उनका अनुसार मजदुर र यातायात गरी नौ वटा संगठनको संयुक्त आयोजनामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको हो । विभिन्न ७ वटा मुख्य माग राखेर यातायात व्यवसायी र मजदुर संगठनहरू आन्दोलनमा उत्रिएका हुन् ।
यता राजावादीको बन्द फिर्ता भए पनि आज सडकमा सार्वजनिक सवारी भने कम चलेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गराएका हुन् । सार्वजनिक यातायात नचल्दा देशभरका सडकमा कम मात्रै सवारी साधन देखिएका हुन् । सोमबार बिहान काठमाडौं उपत्यकाका सडकमा पनि सार्वजनिक यातायात कमै देखिए ।
संघीय ऐनसँग बाझिने गरी प्रदेशहरूले ऐन ल्याउन लागेको र विशेषगरी गण्डकी प्रदेशले राजपत्रमा प्रकाशनगरी निजी सवारी साधन ( रातो प्लेट) लाई भाडाको ( कालो प्लेट ) सरह सञ्चालन गर्न लागेको, सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारले अनिवार्य लागू नगरेकोलगायत माग गरेर आन्दोलन गर्न लागिएको जानकारी सिटौलाले दिए ।
गण्डकी सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पटक पटक आह्वान गरे पनि व्यवसायी गएका छैनन् । प्रदेश सरकारले यसअघि बुधवार र हिजो आइतबार पनि वार्तामा बोलाएको थियो । तर व्यवसायी बार्तामा नबसी आन्दोलन चर्काईरहेका छन् । जसले गर्दा पोखरामा अलपत्र परेका यात्रुहरुलाई स्कटिङ्ग गरी काठमाण्डौ र चितवन पुर्याउनु परेको छ ।