काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार ( जेठ १९ गते ) देखि लागू हुने गरी आगामी दुई महिनासम्म चक्रपथ र चक्रपथभित्रका अधिकांश सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्न रोक लगाएको छ। अत्यावश्यक सेवा प्रवाह, शान्ति सुरक्षा र सार्वजनिक यातायातमा अवरोध पुगेको भन्दै प्रशासनले तीन स्थानबाहेक अन्यत्र अनसन, धर्ना, जुलुस र सभाजस्ता कार्यक्रम गर्न निषेध गरेको हो।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा चक्रपथ र चक्रपथभित्रका क्षेत्रमा हुने विरोधका कार्यक्रमले अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र यातायात सञ्चालनमा कठिनाइ उत्पन्न गरेको, जनगुनासो बढेको तथा सार्वजनिक सम्पत्ति र शान्ति सुरक्षामा असर पार्ने अवस्था देखिएकाले यस्तो निर्णय लिइएको उल्लेख छ।
जिल्ला सुरक्षा समितिको सिफारिस र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३क० बमोजिम यो आदेश जारी गरिएको हो।आदेशअनुसार, सिफल चौर क्षेत्र, कोटेश्वर आकासे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा भने विरोधका कार्यक्रम गर्न पाइनेछ। यी तोकिएका स्थानबाहेक अन्यत्र भेला, जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न पूर्णतः निषेध गरिएको छ।