कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यस प्रदेशको १६ वर्षमुनिका क्रिकेट खेलाडीको टोलीलाई आइतबार बिदाइ गर्नुभएको छ ।
एसिसि पुरुष यु–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि सुर्खेतमा हुने यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने यस प्रदेशको टोलीलाई उहाँले बिदाइ गर्नुभएको हो । उक्त प्रतियोगिता सोमबारदेखि सुर्खेतमा आयोजना हुँदैछ । सचिन भट्टको कप्तानीमा रहेको १६ सदस्यीय टोली आज सुर्खेत प्रस्थान गर्दैछ ।
टोलीको प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द रहनुभएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख १६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्शाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको थियो । प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोली सहभागी थिए ।