रुपन्देही । २५० करोड भन्दा धेरै रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बलहियाबाट पक्राउ गरेको हो।
बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए। बैंकको रकम हिनामिना प्रकरणमा रायलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए। २०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय २०७६ देखि २०७९सम्म सिईओका रुपमा कार्यरत थिए। उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए। रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। सल्यानका राय पछिल्लो समय बाँकेका स्थायी बासिन्दा हुन्।
सीआईबीका अनुसार यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरू समेत अनुसन्धानको दायरामा परेका छन्। उक्त प्रकरणमा बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएका छन्।
बैंकमा हिनामिना भएको आरोप लागेपछि बैंकका सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा गत पुस ५ मा छानविन समिति गठन भएको थियो। समितिले अनियमिततामा रायसहितका व्यक्तिले १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने राय दिएको थियो। करोडौँ रुपैयाँ हिनामिना भएपछि नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो ।