विराटनगर । वर्षाका कारण धरान( धनकुटाका सडक अवरुद्ध बनेको छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक कटान भएको छ । सडक कटान भएसँगै लोकमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार फेदी नजिकैको लेउती खोलामा अचानक आएको बाढीले करिब एक सय मिटर सडक कटान गरेपछि दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
सोही सडकको नमस्ते झरनाको छेउमा माथिबाट खसेको पहिरोले पनि पूर्ण रूपमा सडक अवरुद्ध भएको छ। सडक खुलाउन प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। अहिले अवरोध हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।