काठमाडौँ । इलेक्ट्रोनिक भेहिकल ( ईभी) को भन्सार मूल्य यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् । यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै ईभी भन्सार जाँचपास गराएका थिए । तर, कर यथावत् भएपछि त्यसरी ल्याउने व्यापारीहरू नोक्सानमा पर्ने भएका हुन् ।
नेपालमा बसी सूचना प्रविधिको काम गरी गने आयमा आयकरको दर ५ प्रतिशत आयकर लाग्ने र त्यो नै अन्तिम हुने पौडेलले बताए ।साथै सूर्तीजन्य पदार्थ तथा मदिरामा करको दर बढाउने घोषणा उनले गरे । अर्थमन्त्री पौडेलले भ्याट, अन्तःशुल्क र आयकर कानुनमा परिमार्जन गर्ने उनले बताए । यसैगरी भ्याटमा बहुदर लगाउन अध्ययन गर्ने घोषणा पनि उनले गरे । सूचना प्रविधिमा आधारित उद्योग र होटललाई आयकर छुट दिने घोषणा उनको छ । फुटबल, क्रिकेट र रंगशालाका लागि आयतमा १ प्रतिशत मात्रै भन्सार लिने उनले बताए ।
ग्रिन हाइड्रोजनको मेसिनरी आयातमा भन्सार छुट दिने, सौर्य ऊर्जाका लागि ब्याट्री आयात गर्दा १ प्रतिशत भन्सार लिने उनले बताए । विद्युतीय सवारीसाधन एसेम्बलिङ उद्योगलाई १ प्रतिशत मात्रै भन्सार लाग्ने उनको भनाइ छ । निजी क्षेत्रले टनेल बोरिङ मेसिन आयात गर्दा १ प्रतिशत भन्सार लिने उनले बताए । डिजिटल भुक्तानी समायोजनमा लाग्दै आएको भ्याट खारेज गरिएको छ । त्यस्तै विभिन्न फलफूल तथा तरकारीको आयातमा लाग्दै आएको अग्रिम आयकर पनि खारेज भएको छ । राजस्व छुटमा एम्बुलेन्स आयात गर्दा लाग्दै आएको १६ रुपैयाँको सीमा हटाइएको उनले बताए ।