काठमाण्डौं । राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सहितका दल तथा राजवादीहरूले बिहीबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राजवादीहरूले बिहीबार बिहान ११ बजे विभिन्न ठाउँबाट निस्केर दिउँसो एक बजे रत्नपार्कमा जम्मा हुने कार्यक्रम तय गरेका छन्। श्रेष्ठले रत्नपार्कमा आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएको बताए। ‘सभा गर्न लागिएको भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्थ्यो। हामीले आन्दोलन गर्न लागेका हौं। आन्दोलन गर्नका लागि अनुमति लिनुपर्दैन,’ उनले भने।
उनका अनुसार बिहीबारदेखि सुरु हुने भनिएको आन्दोलन शान्तिपूर्ण हुनेछ। राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले राजधानीको शान्तिबाटिका क्षेत्रमै प्रदर्शन गर्ने तय भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आवश्यक सहजीकरण गरिदिएसँगै बिहीबार दिउँसो २ बजेदेखि शान्तिबाटिका क्षेत्रमा राजावादी समूहले प्रदर्शन गर्ने तय भएको हो ।
राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले साढे १ बजेसम्म राजधानीका विभिन्न स्थानबाट र्याली निकालिने र शान्तिबाटिकामा भेला भएर २ बजेदेखि शान्तिपूर्ण प्रदर्शन सुरु गरिने बताए । राजावादी समूहले वर्तमान व्यवस्थालाई चुनौती दिँदै बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । सोही आन्दोलनका लागि यसअघि नै शान्तिबाटिकामा भेला भएर प्रदर्शन गर्ने राजावादी समूहले बताउँदै आएपनि एमालेको समेत सोही क्षेत्रमा प्रदर्शन हुने भएपनि अन्योलता हुँदै आएको थियो ।
तर, प्रशासनले एमालेले २ बजेसम्म प्रदर्शन गर्ने र त्यसपछि राजावादीलाई प्रदर्शनको समय उपलब्ध गराउने गरी समय उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक अधिकारीले जानकारी दिए । एमालेले भृकुटीमण्डप क्षेत्रमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ । सरकारले भने राजावादीहरूलाई बिहीबार काठमाडौंको चक्रपथबाट भित्र छिर्न नदिने तयारी गरेको छ।राजवादीहरूले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका थिए। तर उक्त प्रदर्शन हिंसात्मक भई धनजनको क्षति भएको थियो।