बुटवल । बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुइ छोरीको बिभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमान ढकालको हत्या गरेका हुन्।
प्रहरीका अनुसार घटना आज बिहान ४ बजेतिर भएको र मृतक दीपा बस्यालले कोइरालासँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन्। दीपा बस्यालका हालका पति वैदेशिक रोजगारीमा छन्। उनी दुई छोरीलाई साथमै लिएर गएराति पूर्व पतिलाई भेट्न गएको बेला घटना भएको हो।
‘कोइराला घरमा एक्लै बस्दा रहेछन्,’ रानाका अनुसार , ‘राति सँगै बसेपछि उनले बिहानपख पूर्वपत्नी र छोरीहरुको बिभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हामी थप अनुसन्धानकै क्रममा छौँ।’ उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको रानाले बताए। ‘हत्या कसुरमा श्रीमान जेल परेपछि ती महिलाले दोस्रो बिहे गरेकी स्थानीयले बताएका छन्। मारिने दुई छोरी अहिलेका श्रीमान पट्टीका हुन्।’ प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर १० वर्ष जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका व्यक्ति हुन्।