काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसद उठेका थिए । त्यसपछि सभामुखले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिएका छन् ।नेकपा माओवादी केन्द्रले भिजिट भिसाको नाममा विमानस्थलमा असुली राजनीतिक संरक्षणबिना सम्भव नहुने दाबी गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए। उनले अख्तियारले मुख्य आरोपित भनेको तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएको बताए। उनले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पाटी,रनाप्रपा लगायतका दलका सांसदहरुले बिरोध जनाईरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमाथि छानविन गर्न उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ । आज संसद वैठकमा रास्वपाले सो माग गरेको हो ।रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने घोषणा गरे । खनालले राजनीतिक संरक्षणमा नै विमानस्थलमा लुटको धन्दा चलाइएको आरोप लगाए । उनले विवादित पृष्ठभूमिको सहसचिवलाई गृहमन्त्रीले किन अध्यागमनमा पठाएको ? त्यहाँ गृहमन्त्रीको पनि स्वार्थ जोडिएको हुनसक्ने भएकाले अनुसन्धान हुनुपर्ने बताए ।