काठमाडौं । नेकपा माओवादी (केन्द्र ) र नेपाल समाजवादी पार्टीबिच समायोजन भएको छ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ माओवादी केन्द्रमा फर्किएका छन् ।
माओवादीसँग समायोजन प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ । समायोजन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
१० वर्षमा चारवटा पार्टी फेरेर श्रेष्ठ माओवादीमा फर्किएका हुन् । २०७२ सालमा संविधान जारी भएसँगै डा।बाबुराम भट्टराईले माओवादी त्यागेका थिए । उनीसँगै गंगानारायण श्रेष्ठले पनि पार्टी छाडेर नयाँ शक्तिमा लागे । नयाँ शक्ति पार्टीलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा गएकता गरेपछि उनी समाजवादी पार्टी नेपालको नेता बनेका थिए ।
समाजवादी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी मिलेर जसपा नेपाल बनेको थियो । जसपा नेपालबाट पनि उनी बाबुरामसँगै फुटेर नेपाल समाजवादी पार्टीमा गएका थिए । नेसपाबाट बाबुराम भट्टराईलाई निकालेर महिन्द्र यादव र गंगाले चलाएको उक्त पार्टीबाट पनि उनी महिन्द्रलाई छाडेर अलग्गै समूह लिएर माओवादीमा फर्किएका हुन् । माओवादी छाड्दा पोलिटव्युरो सदस्य रहेका श्रेष्ठले फर्किदा सचिव पद पाएका छन् ।