काठमाण्डौं । भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वापा ) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकमत भएका छन् । दुबै दलले भिजिट भिसा प्रकरणमा संसद चल्न नदिने चेतावनीदेखि गृहमन्त्री र प्रधानमन्त्रीसम्मको राजीनामा माग्ने योजना बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का प्रवक्ता मनिष झाले आगामी संसद् बैठक सामान्य नहुने चेतावनी दिएका छन् । रास्वपा केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भिजिट भिसा प्रकरणलाई लिएर अगाामी बैठक सामान्य नहुने बताएका हुनु् ।
‘संसद्मा के गर्नुहुन्छ भनेर रणनीतिक रुपमा म तपाईँहरुको अगाडि खुलाउन चाहन्नँ । तर, पर्सीको संसद् बैठक सामान्य हुने छैन । यतिमात्रै अहिले भन्छु,’– उनले भने । साथै, भिजिट भिसा प्रकरणमा कर्मचारीले गल्ती गरेको भनेर गृहमन्त्री रमेश लेखकले आफ्नो संलग्नता स्वीकार गरिसकेको उनको दाबी छ । नेता झाले कर्मचारीले बदमासी गर्यो भनेर मन्त्री लेखकले उन्मुक्ति नपाउने बताए ।
‘पर्सी सदनमा हामी कसरी उपस्थित हुने र भर्खरै खुलेको भिजिट भिसा, मानव तस्करी काण्ड, त्यसमा वर्तमान गृहमन्त्रीको संलग्नता र उहाँले एउटा कुरा स्वीकारिसक्नुभयो कि कर्मचारीले बदमासी गर्यो भनेर । बदमासी त कर्मचारीबाटै हुन्छ नि । गृहमन्त्री गएर त त्यहाँ टाँचा लगाउन बस्नुहुन्न । उहाँको त्यही संयन्त्रले त बदमासी गर्छ । मन्त्री गएर एयरपोर्टमा बसेर टाँचा लगाउने हो र रु होइन नि । कार्यान्वयन हुने कर्मचारीबाटै हो,’– उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले भोलि ( जेठ १३ गते ) गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने भएको छ। पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री र भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश ब्रजाचार्यले घुस लिएको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन्।
शाहीले सामाजिक सञ्जलामा लेख्दै भने, यही जेठ १३ गते हुने प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री र भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश ब्रजाचार्यले घुस लिएको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्ने छ। मंगलबारको संसद् बैठकमा प्रस्तुत हुने विषयबारे पार्टीले बैठक राखेर सामूहिक निर्णय गर्ने प्रमुख सचेतक शाहीले बताए।