काठमाडौं । भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले विज्ञप्ति निकालेर प्रष्ट पारेको छ । आज ( शनिबार ) विज्ञप्ति सार्वजनिक गरिएको विज्ञप्तिमा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार र क्रियाप्रतिक्रियाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
गृहले उक्त समाचारलाई कपोलकल्पित, भ्रामक र आधारहीन भनेको छ । समाचार प्रकाशित र प्रसारित भएकोप्रति दुःख व्यक्त गर्दै गृहले भनेको छ, ‘यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं ।’ गृह प्रशासन निरन्तर शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि क्रियाशील रहेको र सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको र अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा आउने गृहले विश्वास व्यक्त गरेको छ ।