काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजावादी नेताहरुसँग भेट गरेका छन् । नवराज सुवेदी नेतृत्वको राजावादी समूहले वर्तमान व्यवस्थाविरुद्ध जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको सन्दर्भमा बिहीबार ज्ञानेन्द्रले सुवेदीसहित केही नेताहरुसँग भेट गरेका हुन् । सोल्टी होटलमा लन्चसहित करिब डेढ घन्टा कुराकानी भएको बुझिएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले राजावादीहरुसँगको भेटलाई तिब्रता दिएका छन् । पूर्व राजा यसअघि पनि राजावादी नेताहरुले कहिले समुहमा त कहिले एक्लाएक्लै पूर्वराजासँग भेटवार्ता गरिरहेका छन् । केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र नगरकोटमा बसेर भेटघाट गरेका थिए ।
आउँदो १५ चैतदेखि सुरु हुने ‘संयुक्त जनआन्दोलन’ लाई प्रभावकारी र निर्णायक बनाउने दौडधुपमा रहेका राजावादी नेताहरुले यसैको सरसल्लाहका लागि पूर्वराजासँग भेटेका हुन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट पूर्वराजा भेट्न पुगेका थिए ।
भेटवार्ताको विषयवस्तुबारे स्रोतले विस्तृतमा बताउन चाहेन । यद्यपि, संयुक्त जनआन्दोलनलाई कसरी प्रभावकारी बनाउने तथा राजावादीहरुबीच आपसी समझदारी र विश्वास बढाउने विषयमा कुराकानी भएको जनाइएको छ ।