काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल र सदस्य अमनलाल मोदीबिच बाझाबाझ भएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकमा पोखरेलले मोदीलाई बोल्न नदिएपछि विवाद भएको हो । बैठकको सुरुमै मोदी बोल्न खोजेपछि पोखरेलले रोक्ने प्रयास गरेका गरेका थिए । सोही क्रममा पोखरेलले मोदीले युट्युबर ल्याएर ‘स्टन्ट’ गर्न खोजेको आरोप लगाएका थिए । ‘तपाईं युट्युबर बोकेर आउनु भएको छ । तपाईं सुटिङ गर्न आउनु हो कि बैठकमा रु’, आक्रोशित हुँदै पोखरेलले भने । त्यसपछि पोखरेल र मोदीबिच भनाभन भएको हो ।
सो क्रममा पोखरेलले संसदीय समिति स्टन्ट गर्ने थलो नभएको भन्दै स्टन्ट जारी राखे सञ्चारमाध्यमलाई नै कडाइ गर्ने चेतावनी दिए । यसअघि पनि सभापति र मोदीबिच विवाद हुने गरेका थिए ।यसैबिच समिति अन्तर्गत गठन भएको सात वटा कार्यदलको म्याद एक महिना थप गरेर बैठक स्थगित भएको छ । समितिमा परेका विभिन्न उजुरीमध्ये लेखा समितिको कार्यक्षेत्र रहेको भनेर सञ्जय गौतम नेतृत्वको उपसमितिले स्क्रिनिङ गरेर दिएका ४८ उजुरीउपर छानबिन गर्न बनेको कार्यदलको म्याद थप गरिएको हो ।
यस सम्बन्धमा चैत ७ गते समितिले विभिन्न उपसमिति बनाएको थियो । त्यसमध्ये टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी हेर्न मनिष झा नेतृत्वमा कार्यदल गठन गरिएको छ । त्यस्तै, अर्थ मन्त्रालय, गैरकानूनी बीमा, मोबाइल बैंकिङ र एमसीसी सम्बद्ध उजुरीका सम्बन्धमा छानबिन गर्न गोकुल बाँस्कोटा नेतृत्वमा कार्यदल बनाइएको छ । त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालय सम्बद्ध उजुरीका लागि लेखनाथ दाहाल तथा विद्युत प्राधिकरण तथा सहरी विकास मन्त्रालय सम्बद्ध उजुरीको छानबिनका लागि प्रेम आलेको नेतृत्वमा कार्यदल बनाइएको छ ।
सहकारी, वैदेशिक रोजगार तथा धितोपत्र सम्बन्धी उजुरी छानबिन गर्न सञ्जय गौतमको नेतृत्वमा कार्यदल बनाइएको छ । खेलकुद, नेपाल स्काउट र गैरकानूनी सरकारी जग्गासम्बन्धी उजुरी छानबिनका लागि देवप्रसाद तिमल्सिनाको नेतृत्व रहेको कार्यदल बनाइएको छ ।त्यस्तै, स्वास्थ्य, क्रसर र केन्द्रीय अनुसन्धान व्युरोसम्बन्धी उजुरी छानबिनका लागि तारा लामाको नेतृत्व रहेको कार्यदल बनाइएको छ । सुरुमा १५ दिनका लागि भनेर तोकेको समयावधि यतिबेला २ महिना नाघिसकेको छ । तर, अहिलेसम्म कुनै कार्यदलले पनि प्रतिवेदन बुझाएका छैनन् ।