काठमाडौँ — हालै विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई सहायक निरीक्षकहरूलाई विशेष बढुवा गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीका अनुसार, सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई नायब निरीक्षकमा विशेष बढुवा गरिएको हो।
त्यस्तै, नेपाल प्रहरीका प्रवक्ता डिआईजी रमेश थापाले प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको जानकारी दिए।
छत्याल र शेर्पा दुवैले हालै सगरमाथाको सफल आरोहण गरेका थिए। उनीहरूको साहस र योगदानको कदरस्वरूप दुवै सुरक्षा निकायका प्रमुखद्वारा विशेष बढुवाको निर्णय गरिएको हो।