काठमाडौं । नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले आन्दोलनमा सहकार्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) लाई पत्र पठाएपछि रास्वपाले प्रतिक्रिया दिएको छ । समितिका संयोजक सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै जेठ ६ गते पत्र पठाएका थिए । कार्यबाहक सभापति अर्यालले राजावादीले पठाएको पत्रको अहिले कुनै जवाफ नदिने स्पष्ट पारे ।
‘उहाँले आन्दोलनमा ऐक्यबद्धता जनाउन पत्र पार्टी कार्यालयमा पठाउनु भएको रहेछन् । मैले बुझेको पनि होइन । पत्रको जवाफ पनि हामी दिँदैनौँ । आन्दोलनमा हाम्रो समर्थन पनि हुँदैन’, उनले भने । राजावादीहरूले समर्थन गर्नका लागि पत्र पठाउनु उनीहरूको आफ्नो विषय भएको अर्यालले बताए । यद्यपि जेठ १५ गतेदेखि व्यवस्थाविरुद्ध गर्न लागिएको अनिश्चितकालीन आन्दोलनलाई पर्ख र हेरको स्थितिमा रहेकाले अहिले नै कुनै प्रतिक्रिया नदिने उनले बताए । राजावादीले गर्न लागिएको व्यवस्था विरोधी आन्दोलनलाई हामीले पर्ख र हेरको रुपमा हेरेका छौँ । यसबारे अहिले नै प्रतिक्रिया दिनु हतार हुनेछ’, थप प्रष्ट पार्दै उनले भने ।
अर्याललाई पठाएको पत्रमा समितिले जेठ १५ गतेदेखि देशव्यापी जनआन्दोलन सुरु गर्न लागेको उल्लेख गर्दै, हालको राजनीतिक व्यवस्थाले जनताको सुशासन र समृद्धिको चाहना पुरा गर्न नसक्ने उल्लेख छ । जनआन्दोलन समितिले रास्वपा सभापति रवि लामिछानेले हालैको अभिव्यक्तिमा न्यायपालिकाप्रति आशंका व्यक्त गरेकाले रास्वपाको पनि वर्तमान व्यवस्थाप्रति असन्तुष्टि रहेको निष्कर्ष निकालेको छ। सोही आधारमा समितिले सहकार्यका लागि साझा समझदारीको सम्भावना रहेको पत्रमा विश्वास व्यक्त गरेको छ।