काठमाण्डौं । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित सि।सं। ६ गोताखोर तालिम जेठ ७ गते सम्पन्न भएको छ । सो तालिम २० जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । यससँगै सशस्त्र प्रहरी बल नेपालमा गोताखोर तालिम प्राप्त जनशक्ति १ सय २८ पुगेको छ ।
समापन कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोताखोर ट्याग प्रदान गर्नुभएको थियो । सोही अवसरमा लेखकले विपद् व्यवस्थापन सम्बन्धि सामाग्री रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एक्जिवेशन सेन्टरको समेत अवलोकन गर्नुभएको थियो । 

उहाँले हिमालको हिउँदेखि पहाडको पहिरो र तराईको डुवानमा परेका नागरिकहरुको उद्धार कार्यको प्रशंसा गर्नुहुँदै सशस्त्र प्रहरीले जसरी सफलतापूर्वक उद्धार गर्नको लागि सीप हासिल गरेको छ, त्यसरी नै समर्पित भएर नागरिकका लागि अझ दत्तचित्त भई काम गर्नुहुनेछ भन्ने अपेक्षा राखेको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय, सहकार्य गर्दै विपद् जोखिम न्यूनिकरणमा लाग्न जरुरी रहेको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालमा आवद्ध कर्मचारीहरु मनसुनजन्य प्रतिकार्यको लागि तयार रहन निर्देशन दिनुभयो ।
गृहमन्त्री लेखकले जोखिम न्यूनिकरणको लागि स्थानीय सरकार तथा प्रदेश सरकारलाई समेत सक्षम बनाउँदै संघीय सरकारमा नीति बनाउनुपर्ने आवश्यकता रहेको बताउनुहुँदै विपद् जोखिममा परेका नागरिकहरुको जीउ धनको सुरक्षा, राहत तथा पुनःनिर्माणमा समेत सबै सुरक्षा निकाय तथा स्थानीय तहहरुले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरी कर्मचारीहरुले तालिममा हासिल गरेका ज्ञान, कला र सीपलाई कार्यक्षेत्रमा खटिँदा सदुपयोग गर्दै आपद् विपद्मा परेका नागरिकको उद्धार कार्यमा आफ्नो ज्यानको प्रवाह नगरी दिएको योगदान प्रशंसनिय रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुले गरेका हरेक क्रियाकलापले आम नागरिकहरुमा भरोसा कायम रहेको बताउनुहुँदै आगामी दिनहरुमा समेत यस्तै कार्यहरुको अपेक्षा रहेको बताउनुभयो । 

कार्यक्रममा गृह सचिव गोकर्णमणी दुवाडीले मुलुक विभिन्न प्रकृतीको विपद् जोखिममा रहेको हुँदा गोताखोर जस्तो महत्वपूर्ण तालिमले दक्ष जनशक्ति उत्पादन गर्नुको साथै विपद् जोखिममा परेका आम नागरिकहरुको उद्धार र राहत कार्यमा सहजता पुगेको बताउनुभयो । उहाँले यस प्रकारका तालिम प्राप्त जनशक्तिले आफ्नो जीवनलाई चुनौतीपूर्ण अवस्थामा राखेर भएतापनि विपद् पीडित नागरिकहरुको उद्धार कार्यमा लागेको बताउनुहँदै उद्धार कार्यको लागि चाहिने श्रोत साधन र जनशक्तिमा कुनै किसिमको कमीकमजोरी नओस् भन्नेतर्फ मन्त्रालय प्रयासरत रहेको बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालले आपद् विपद्मा परेका नागरिकको उद्धार राहत तथा सेवा सुरक्षालाई सधै प्राथमिकतामा राख्दै अघि बढेको बताउनुहुँदै Border Security, Internal Security, Revenue Support and Disaster Management (BIRD) को अवधारणा अन्तर्गत विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सम्पूर्ण इकाईहरुमा आधारभूत उद्धार सामाग्री र प्रदेशस्तरमा विशिष्टिकृत आधुनिक उपकरणसहित दक्ष र व्यावसायिक जनशक्ति तैनाथ गर्ने योजना रहेको बताउनुभयो ।

गोताखोर जस्तो महत्वपूर्ण तालिमले व्यक्तिको बृत्तिविकास मात्र नभई जनताप्रति हाम्रो जिम्मेवारी र उत्तरदायित्व समेत रहेको बताउनुहँुदै महानिरीक्षक अर्यालले भन्नुभयो–‘तपाईहरुले बगाएको पसिनाले तब सार्थकता पाउने छ, जब तपाईहरुले असम्भवलाई पनि सम्भव बनाएर जनताको मुहारमा मुस्कान ल्याउनु हुनेछ, हिरोहरु खतरामा हाम फाल्छन् कीर्तिको लागि होईन मावनताको लागि हो जहाँ व्यक्तिगत लाभभन्दा मानव जीवनको रक्षालाई महत्वपूर्ण मान्नुपर्छ ।’
महानिरीक्षक अर्यालले विभिन्न प्रकृतिका विपद् प्रतिकार्य गर्नसक्ने समुदायस्तरमै समुदाय विपद् स्वयंसेवक उत्पादन गर्ने सशस्त्र प्रहरी बल नेपालको योजना प्रारम्भ भईरहेको बताउनुहुँदै विपद् सम्बन्धि सूचना प्राप्ती, परिचालनमा समन्वय र उद्धारमा सहकार्यको लागि यसै महिनाभित्र नेपालभरिका हरेक वडामा २५ जनाका दरले १ लाख ७० हजार समुदायस्तरमा विपद् सूचक तयार गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले यस कार्यले विपद् व्यवस्थापनको क्षमतामा थप अभिबृद्धि भई प्रभावकारी विपद् उद्धार कार्यको लागि कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गर्नुहुँदै यसका लागि संघ, प्रदेश र स्थानीय तह सरकारको सहयोग, समन्वय र सहकार्यको अपेक्षा समेत राख्नुभयो । 

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनका समादेश सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक भरत खनियाले तालिम केन्द्रको विविध गतिविधिको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । ६ हप्ता अवधिको उक्त तालिममा २० जना सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी रहेका थिए । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशुली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराईएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले पानीजन्य घटना दुर्घटनामा उद्धार सम्बन्धी डेमो समेत प्रदर्शन गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक २०६९ सालमा बंगलादेशबाट २५ जनाले गोताखोर तालिम प्राप्त गरेका थिए । यसैगरी नेपालमा समेत पहिलो पटक २०७६ सालदेखि गोताखोर तालिम दिन शुरु गरिएको हो । गोताखोर तालिम प्राप्त टोली सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनी मुख्यालय सुनसरी, नं। २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं। ६ महेश्वरी बाहिनी मुख्याल सुर्खेत, नं। ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा परिचालित छन् ।
त्यसैगरी नं. ३ कंकालिनीमाई गण मोरङ्ग, नं. १७ गण चितवन, नं. २४ कालिका गण कास्की, नं. २० विपद् उद्धार गण सिनामंगल, नं. ४२ रिजर्भ गण बाँके र विपद् व्यवस्थापन वेश खुर्कोट सिन्धुलीमा समेत तैनाथ रहेका छन् । सो टोली विपद्मा परेका आम नागरिकहरुको सहयोग तथा उद्धारमा खटिदै आएका छन् ।
कार्यक्रमा प्रहरी महानिरीक्ष दिपक थापा, राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई। दिनेश भट्ट, गृह मन्त्रालयका सह–सचिव छविलाल रिजाल, ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङ्ग लगायत चितवन, धादिङ र गोर्खा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकृतहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, संचारकर्मी र स्थानीय भद्रभलाद्मीहरुको समेत उपस्थिती रहेको थियो ।