काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई राजसंस्था पुर्नस्थापनाका लागि हुने जनआन्दोलनमा सहकार्यका निम्ति पत्र पठाएका छन् । संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र र बहुदलीय प्रजातन्त्र पुनःप्राप्तिका लागि मिलेर अघि बढ्न उनको प्रस्ताव छ । सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्याललाई सम्बोधन गर्दै हिजो पत्र लेखेका हुन् । उनले संयुक्त जनआन्द्योलन समितिले जेठ १५ गतेदखि आन्दोलन प्रारमभ गर्न लागेको अवगत गराएका छन् ।
पत्रमा भनिएको छ, ‘तपाईंको पार्टीका सभापति श्री रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ । राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलिय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ । यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु ।’
उनले रास्वपाको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्थाप्रतिको आलोचनालाई दृष्टिगत गर्दै आन्दोलनमा सहकार्य र सहभागिताको लागि अनुरोध गरेका छन् । ‘आउनुहोस्, यो चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौं, संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र, बहुदलिय प्रजातन्त्र पुुनःर्स्थापना गरौं’, पत्रमा भनिएको छ ।