काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको भनी उपसमितिले तयार पारेको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ । समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकले थप अनुसन्धान गरी दोषीमाथि कारबाहीको लागि उक्त प्रतिवेदन आयोगमा पठाउने निर्णय भएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । करिब २२ अर्बको लगानीमा निर्माण भएको एयरपोर्टमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको समितिको प्रतिवेदनमा उल्लेख छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको छानविन समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा केही भाषा शुद्धता मिलाउँदै अख्तियार पठाउने निर्णय गरेको हो ।
अध्यक्ष लिङदेनका अनुसार, समितिको पूर्ण बैठकले ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता तथा भ्रष्टाचार भएको, निर्माण प्रक्रियामा पनि आर्थिक तथा प्राविधिक अनियमितता भएको, निर्माण सम्झौता विपरीत २ अर्ब २२ करोड ४० लाख कर छुटमा अनियमितता भएको निष्कर्ष निकालेको छ । यस्तै निर्माणक्रमको प्रारम्भदेखि अहिलेसम्मका सबै प्रकारका अनियमितताहरूमा व्यापक अध्ययन अनुसन्धान गरेर अनियमिता र भ्रष्टाचारमा संलग्न सबैमाथि कारबाही हुनुपर्ने निष्कर्ष पनि समितिको छ ।
समिति सभापति ऋषिकेश पोखरेलले छानबिन गर्ने निकाय समिति नभएको बताउँदै आफूहरुले तयार पारेको प्रतिवेदनमाथि थप अध्ययन अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडी बढाउन अख्तियारलाई निर्देशन दिएको बताए। अध्ययन प्रतिवेदनमा निर्माणको सुरुवातदेखि अहिलेसम्म १० अर्ब बढी अनियमितता भएको निष्कर्ष निकालेको थियो ।