काठमाण्डौं । हुम्लाको तिलगाउँनजिकै आएको बाढीको कारण पत्ता लगाउन विशेषज्ञ टोली त्यसतर्फ जाने भएको छ। हुम्लाको लिमी उपत्यकामा रहेको तिलगाउँस्थित माथिल्लो तटीय क्षेत्रमा झन्डै ५५ सय मिटर उचाइमा अवस्थित दुईवटा ससाना हिउँपोखरी फुटेर गत बुधबार बाढी आएको प्रारम्भिक अनुमान छ।
माटो, हिउँ र गेग्रानसहितको उक्त ‘थर्मोकास्र्ट’ बाढीले लघु जलविद्युत् परियोजना, कुलो, खेतबारी, पानीघट्ट, ट्यांकीमा क्षति गरेको स्थानीयले बताएका छन्। तिलगाउँलाई सो बाढीले वरिपरिबाट कटान गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार प्राधिकरण, गृह मन्त्रालय, इसिमोड, प्रमुख जिल्ला अधिकारीलगायत स्थानीय गाउँपालिकाको टोलीले उक्त घटनाको कारण पत्ता लगाउन केही दिनमै स्थलगत भ्रमण गर्ने तयारी गरेको छ।
इसिमोडका जलवायु विशेषज्ञ डा. अरूणभक्त श्रेष्ठले उक्त क्षेत्रमा अत्यधिक बादल लागेकाले भू–उपग्रहबाट राम्रो तस्बिर लिन नसकिएको बताए। उनले सो क्षेत्रमा तापक्रम बढेका कारण हिउँ पग्लेर बाढीको घटना भएको हुन सक्ने बताए। लिमी उपत्यकाकी स्थानीयसमेत रहेकी जलवायु अभियन्ता टासी लाजोमका अनुसार उक्त ‘थर्मोकास्र्ट’ बाढीले तिलगाउँलाई थप जोखिममा पारेको छ। उनले राजधानीमा जलवायु परिवर्तनबारे सगरमाथा संवाद सुरु हुनुभन्दा एक दिनअघि उक्त पहिरो गएको र यसका लागि जलवायु परिवर्तन कारक रहेको बताइन्।
‘जलवायु परिवर्तनको जोखिममा दुर्गम गाउँहरू छन् तर ती स्थानमा समयमै सहयोग पुग्न सक्दैन,’ उनले भनिन्। उनले गाउँलेलाई वाटरप्रुफ टेन्ट, पाइप, खाद्यान्नलगायत अन्य राहत सामग्री आवश्यक रहेको बताएकी छन्। प्राधिकरण प्रवक्ता केसीले भने उक्त क्षेत्रका लागि खानेपानी पाइपलगायत तत्काल आवश्यक पर्ने अन्य राहत सामग्री पठाइसकिएको बताए।