काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् । आजै ६ बजे प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक पनि डाकेका छन् । गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे सदस्य छन् ।
यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति पुनर्गठन गरिएको थियो । बैठक नबसेको भन्दै पहिलो पटक बनेको समितिको सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । डा. पौडेल पनि राजीनामा दिएर आफैँ गभर्नरको दौडमा छन् ।
गभर्नर सिफारिस समितिको एकजना डेपुटी गभर्नरसहित ३ जनाको नाम सिफारिस गर्ने छ । लामो समयदेखि गभर्नर सिफारिस समितिको बैठक बस्न सकेको थिएन । पहिलो पटक बनेको सिफारिस समिति भंग गरेर दोस्रो पटक समिति बनेपछि आज बैठक बस्न लागेको हो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलदबार भएको छलफलका क्रममा विश्व पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको बुझिएको छ ।