काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी नरहेको बताएका छन् । मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले संविधानले नागरिकलाई सूचनाको हकको अधिकार दिएको तर मुलुकको शान्ति सुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक सम्बन्ध, कूटनीतिक सम्बन्ध लगायतका सूचनाहरू दिन जरुरी नरहेको स्पष्ट पारेका हुन् ।
उनले यी सूचनाहरू मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने जिकिर गरे । गृहमन्त्री लेखकले भने, ‘सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन । कतिपय सूचनाहरू गोपनीयतासँग जोडिएका हुन्छन् । ती सूचना दिन जरुरी छैन । मुलुकको शान्ति सुरक्षासँग जोडिएका हुन्छन् । मुलुकको प्रतिरक्षासँग जोडिएका हुन्छन् । वैदेशिक सम्बन्धसँग जोडिएका हुन्छन् । कूटनीतिक सम्बन्धहरूसँग जोडिएका हुन्छन् ।
अब ती सूचनाहरू पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना दिई छोड्ने हो भने पनि मुलुकलाई थितिमा बसाउँदैन, अराजकतामा लैजान्छ । संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ । सूचनाको हकको रेफ्री सूचना आयोग नै हो ।’ गृहमन्त्री लेखकले सूचना नलुकाइकन दिन पनि आग्रह गरे । सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा लेखेर दिन आग्रह गरे ।