काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर आज नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको बताए ।
सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू केही अस्वस्थ रहेको भन्दै आफ्नो सम्बोधन छोट्याएका थिए । उनलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ । ‘प्रधानमन्त्रीज्यू हिजोबाटै अस्वस्थ हुनुहुन्छ, त्यसैले आजको प्रश्नोत्तर कार्यक्रममा उहाँ सहभागी हुनसक्ने सम्भावना छैन’, बर्तौलाले भने ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । प्रत्येक महिना सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम अन्तरगत आजको बैठकमा कार्यसूची राखिएको थियो । आज विहान ११ बजेका लागि संसद बैठक आह्वान भएको छ ।