काठमाडौं । चेक बाउन्स मुद्दामा राप्रपा केन्द्रीय सदस्य तथा मोडल खुस्बु ओलीले सर्वोच्च अदालतवाट सफाइ पाएकी छिन् । २०७६ सालमा जिल्ला अदालत काठमाडौंले ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै तीन महिना कैद र ३ हजार रुपैंया जरीवानाको फैसला गरेको थियो । त्यो फैसलाविरुद्ध उनले उच्च हुँदै सर्वोच्चमा पुनरावेदन गरेकी थिइन् ।
उनीविरुद्ध मुद्दा हालेका गोपाल कटुवालले आफूले ओलीबाट पाउनुपर्ने पैसा पाएको भनेपछि ६ वर्षपछि न्यायाधीश कुमार चुँडाल र अब्दुल अजिज मुसलमानको इजलासले ओलीलाई सफाइ दिएको हो । २०७६ जेठ ८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद र ३ हजार जरिवानाको फैसला सुनाएको थियो ।
सप्तरीका गोपाल कटुवालले दायर गरेको मुद्दामा उनले सन् २०१७ जनवरी ३ को मितिमा काटेको चेकबाट रकम भुक्तानी नभएका कारण उनले मुद्दा दायर गरेका थिए । कटुवालसँग आफ्नो आर्थिक लेनदेन दुई वर्षअघि नै मिलिसकेको दाबी गर्दै खुस्बु सर्वोच्च अदालत गएकी थिइन् । उनले जिल्ला अदालतमा भएको सुनुवाइमा आफूलाई सुनुवाइको कुनै मौका नै नदिएको भन्दै पुनरवलोकन दायर गरेकी थिइन् ।