काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउदी अरेबियाको मक्का र मदिना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष कार्यक्रमबीच बिदाइ गरेका छन् ।
इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र मदिना हज हजयात्रीको समूहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट बिदाइ गरे । सफल, सुरक्षित र अर्थपूर्ण हज यात्राको शुभकामना व्यक्त गर्दै उनले हज यात्रालाई केवल धार्मिक अभ्यास मात्र नभई राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रवर्द्धन गर्ने अवसरको रूपमा पनि लिनुपर्ने धारणा व्यक्त गरे ।
मन्त्री पाण्डेले हज व्यवस्थापन, यात्रीहरूको सुरक्षालगायत सम्पूर्ण प्रक्रिया व्यवस्थित र मर्यादित बनाउने सरकारको प्रतिबद्धता दोहोर्याए । उनले हजयात्रीहरूलाई अनुशासित, सहिष्णु र नेपाली पहिचान झल्काउने व्यवहारका साथ पवित्र भूमिमा प्रतिनिधित्व गर्न आग्रह समेत गरे । यस वर्ष हजमा ४० भन्दा बढी नेपाली हजयात्रीको सहभागिता रहने जनाइएको छ । तीर्थयात्रीहरूलाई सहज रूपमा हज यात्रा सम्पन्न गराउन नेपाल सरकार, मुस्लिम आयोग र सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको छ ।