रसुवा । रसुवा भन्सार नाकाबाट करिब ७ किलो सुन बरामद भएको छ । केरुङबाट स्याउ लिएर आउको कन्टेनरमा उक्त परिमाणको सुन बरामद भएको हो । रसुवा भन्सार कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईले ७ वटा बिस्कुट र केही साना टुक्रामा सुन बरामद भएको जानकारी दिएका छन् ।
प्रमुख भट्टराईका अनुसार बरामद सुनको तौल करिब ७ किलो ६ सय ग्राम रहेको छ । सीमावर्ती चिनियाँ बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको उनले बताए । चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको उनको भनाइ छ ।
चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप जाँचका लागि सुन बैंकमा लगिएको पनि भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ हुन थालेपछि सुन तस्करीका लागि तस्करहरूले उत्तरी नाका प्रयोग गर्न थालेका छन् । यस अघि पनि पटक–पटक सोही नाकावाट ठूलो परिणाममा तस्करीको सुन बरामद हुदै आएको छ ।