विराटनगरमा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र ल्याउनु प्रतिगमन नभएको दाबी गरेका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलना गरी थापाले राजतन्त्र ल्याउनु प्रतिगमन नभएको दाबी गरेका हुन् । थापाले आफूहरूलाई बदनाम गराउने उदेश्यले प्रतिगमन भन्ने गरिएको बताए । उनले प्रतिगमन भनेको कम्युनिस्टहरू भएको जिकिरसमेत गरे । उनले भने ‘राजतन्त्र ल्याउनु प्रतिगमन हैन वास्तविक प्रतिगमन भनेको कम्युनिस्टहरू हुन् ।’
थापाले हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले जेठ १५ गते देखि संयुक्त जनआन्दोलनको घोषणा गरिएको बताए ।काठमाडौं केन्द्रित जन आन्दोलन शान्तिपूर्ण हुने पनि थापाले स्पष्ट पारे । उनले काठमाडौं केन्द्रित जन आन्दोलनमा पहिलो दिन २ लाख मानिस सहभागी हुने र क्रमशः सहभागिता बढ्दै जाने बताए । थापाले राजनीतिक दलहरूसहित विभिन्न ४४ वटा संस्थाले संयुक्त रुपमा जनआन्दोलन घोषणा गरेको जानकारी दिए ।
थापाले हिन्दु राज्य,राजतन्त्र र दुई तहको सरकार जन आन्दोलनको मुख्य एजेन्डा भएको बताए । थापाले राजसंस्था, राजनीतिक दल र जनताको संयुक्त प्रयासबाटै मुलुकको समृद्धि संभव भएकाले आफूहरूले जन आन्दोलन गर्न लागेको बताए । उनले जेठ १५ गते देखि हुने जन आन्दोलन उद्देश्य पुरा नभएसम्म निरन्तर जारी रहने दाबी गरे । थापाले गत चैतमा भएको तीनकुने घटना सरकारले नियोजित रुपमा घटाएको आरोप लगाए ।
अध्यक्ष थापाले तीनकुने घटना पछि विभिन्न आरोप लगाउँदै सरकारले थुनामा राखेका दुर्गा प्रसाईँलगायतका नेताहरू आस्थाका बन्दी भएको बताए । थापाले आफूहरूको आन्दोलन संविधान संवत् रहेको दाबी पनि गरे । राजसंस्था र हिन्दु राष्ट्र संविधान संशोधन गरेर राख्न सकिने जिकिर पनि गरे ।