काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मातृभूमि जागरण अभियानका संयोजक भीमबहादुर रावललाई आफ्नो पार्टीमा जोडिनको लागि आग्रह गरेका छन् । पार्टीको अभियान लिएर भिम रावलको गृह जिल्ला अछामको साफेबगर पुगेको बेलामा प्रचण्डले रावललाई राजनीतिक सहकार्यको प्रस्ताव राखेका हुन् ।
उनले भीम रावलसँग पनि फोनसम्वाद भएको जानकारी दिए । भीम रावलसँगको कुराकानीबारे दाहालले भने,‘म यहाँ आउँदैगर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, मैले हिजोमात्र फोनमा कुरा गरेको थिएँ । उहाँले कार्यक्रम सफलताको शुभकामना पनि भन्नुभएको थियो, मैले तपाईं हामी बसेर कुरा गर्नुपर्ने ठाउँमा तपाईं को(को सँग कुरा गरिराख्नुभएको छ भनेको छु ।’
दाहालले भीम रावललाई अन्त कतै भौतारिन नहुने भन्दै आफूहरुसँग सहकार्यको लागि आउन दाहालले पूनः आग्रह गरेका थिए । जो सँग कुरा गर्नुपर्ने हो त्यो सँग कुरा नगरेर समय खेर फालेको पनि बताएको अध्यक्ष दाहालले बताए। ‘जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु,’ उनले भने। सो क्रममा प्रचण्डले आफूहरुले सरकारको नेतृत्व गर्दा देशमा सुशासन कायम भएको दाबी गरेका छन् । उनले कांग्रेस र एमालेले माओवादीलाई सरकारमा नपुर्याएको बरु जनताले सरकारको नेतृत्व्मा पुर्याएको दाबी गरे ।