काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको सिफारिस बमोजिम ५र५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सिफारिस गरेका नामलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्दै पूर्णता दिएको हो । मन्त्रिपरिषद्ले सिफारिस समितिको निर्णय अनुसार सत्य निरुपणमा महेशकुमार थापा तथा बेपत्ता आयोगमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले सत्य निरूपण आयोगको सदस्यमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, कुमारी कौशल्या ओझा र पदमबहादुर शाहीको नाम अनुमोदन गरेको छ । बेपत्ता छानबिन आयोगको सदस्यमा अग्निप्रसाद थपलिया गोपालनाथ योगी, सृजना पोखरेल, विनिता नेपालीको नाम अनुमोदन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।