लुम्बिनी । सांस्कृतिक र ऐतिहासिक महत्वका प्राचीन कलाकृतिको संरक्षण, अभिलेखीकरण र संरक्षण गर्ने उद्देश्यले लुम्बिनी संग्रहालयमा स्थापना गरिएको ‘कन्जरभेसन ल्याब’को शुभारम्भ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्स, सांस्कृतिक मामिला अधिकृत एरिका अलेक्ज्याण्डर, लुम्बिनी प्रदेश र लुम्बिनी विकास कोषका अधिकारीहरू सो अवसरमा सहभागी रहे ।
दूतावास अन्तर्गतको संस्कृति संरक्षणका लागि राजदूत कोषले बुद्ध फाउण्डेसनलाई उपलब्ध गराएको २ लाख ४४ हजार ९६६ अमेरिकी डलरको अनुदानमा उक्त ल्याब तयार भएको हो । बृहत्तर लुम्बिनी क्षेत्रबाट सांस्कृतिक र ऐतिहासिक महत्वका प्राचीन कलाकृतिहरूको संरक्षण, दस्तावेजीकरण र संरक्षणको लागि उक्त अनुदान प्रदान गरिएको हो । कोषअन्तर्गतका परियोजनाले दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक संरक्षणलाई प्रवर्द्धन गरेर अमेरिका–नेपाल सम्बन्धलाई बलियो बनाउने आशा दूतावासले लिएको छ ।
‘यसले कूटनीतिक सम्बन्ध बढाउँछ र दुवै राष्ट्रहरूमा पर्यटन, आतिथ्य र शिक्षा(लाभकारी समुदायमा स्थानीय र अमेरिकी व्यवसायहरूको लागि अवसरहरू सिर्जना गर्दछ’ दूतावासले भनेको छ । अमेरिकी विदेश विभागले सन् २००३ देखि नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्न सहयोग गर्दै आएको छ । विभागले काठमाडौं, पाटन, मुस्ताङ, हुम्ला र लुम्बिनीका परियोजनासहित नेपालभरि २८ वटा परियोजनाको पुनर्स्थापना र संरक्षणलाई सहयोग गर्न ४।५४ मिलियन डलरभन्दा बढी रकम प्रदान गरेको छ ।