काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिदा मनाइरहेका निर्दोष नागरिकलाई धर्म सोधेर क्रुर हत्या गर्ने आतंककारीलाई कडा जवाफ दिइएको बताएका छन् । सोमबार बेलुकी राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले भने, ‘यो हमलापछि सिंगो देश, नागरिक समाज, राजनीतिक दल एकस्वरमा आतंकको विरुद्धमा कडा कारबाहीका लागि उठेका थिए, त्यसपछि हामीले आतंकवादलाई माटोमा मिलाउनका लागि भारतको सेनालाई जिम्मा दिएका थियौं ।’
त्यसक्रममा हरेक आतंककारी संगठनलाई ‘आफूहरूको बहिनी, छोरीको शिरबाट सिन्दुर हटाउनुको नतिजा के हुन्छ भन्ने सन्देश’ पुगेको उनले बताए । ‘अपरेशन सिन्दुर नाम मात्र होइन, देशको सयौं मान्छेको भावनाको प्रतिबिम्ब पनि हो’, उनले भने, ‘अपरेशन सिन्दुर न्यायको अखण्ड प्रतिज्ञा हो । ६ मेको राति ७ मेको बिहान पूरा दुनियाँले यो प्रतिज्ञाको परिणाममा बदलिएको देखे ।’
त्यसदिन भारतीय सेनाले पाकिस्तानको आतंककारी ठेगानामा उनीहरूको तालिम केन्द्रलाई लक्षित गरेर सटिक प्रहार गरेको बताए । १० वैशाखमा भारत प्रशासित जम्मु कश्मिरमा आतंकवादी समूहले गोली हानेर एक नेपालीसहित २६ जनाको विभत्स हत्या गरेको थियो । त्यसको दुई सातापछि आतंकवादविरुद्धको कारबाही भन्दै भारतले पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा हवाई आक्रमण गरेको थियो । त्यो आक्रमणमा एक सयभन्दा बढी खुंखार आतंकवादीलाई मारिएको भन्दै उनले आतंकको हेडक्वार्टरलाई उजाड गरिदिएको बताए ।
‘आतंककारी खुलेआम पाकिस्तानमा घुमिरहेको अवस्थामा त्यहाँ जवाफ दिइएको हो, एक झट्कामा खत्तम गरिएको थियो’, उनले भने, ‘भारतको जवाफबाट पाकिस्तान एकदम निरासा र हतासमा अर्को दुस्साहस गर्यो ।’ सुरक्षा बलको उच्च प्रशंसा गर्दै भनेका छन्, ‘म हाम्रा सुरक्षा बलहरूलाई सलाम गर्न चाहन्छु । विगत केही दिनमा हामीले देशको धैर्य देखेका छौं । अपरेशन सिन्दूर केवल एउटा नाम मात्र होइन, यो जनताको भावनाको प्रतिबम्ब हो ।’
प्रधानमन्त्री मोदीले युद्धको दौरान पाकिस्तानलाई धुलो चटाएको बताएका छन् । ‘जब हाम्रा मिसाइल र ड्रोनहरूले पाकिस्तानमा आतंकवादी स्थलहरू ध्वस्त पारे, तिनीहरूका भवनहरू मात्र होइन, तिनीहरूको भावना पनि ध्वस्त पारियो ।’ उनले पानी र रगत एक साथ बग्न नसक्ने भन्दै पाकिस्तानसँग वार्ता हुन्छ भने आतंकवादमाथि नै हुने बताए ।
पाकिस्तानमा भारतको हमलापछि इस्लामावादले पनि जवाफी कारबाही गरेको थियो । त्यसक्रममा दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो । तर, अमेरिकासहितका राष्ट्रहरूको मध्यतामा दुवै पक्षबीच युद्धविराम भएको छ । यद्यपि, दुई मुलुकबीच तटस्थ स्थानमा फेरि वार्ता हुने भनिएको छ ।