काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘डायबिटिजको बिरामीलाई मिठाई खुवाएको’ संज्ञा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद साहले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने,‘यो नीति तथा कार्यक्रमलाई मैले एक शब्दमा भन्नुपर्दा डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो, राज्यको उच्च ओहोदामा बस्नेहरुले खुलेआम लुट्ने अनि भ्रष्टाचार गरेको पैसा विदेशमा थुपार्ने, अहिलेको मूल प्रवृत्ति भएको छ । लुटको पैसा, भ्रष्टाचारको कालो धन रोक्छौं र फिर्ता ल्याउँछौं भनेर प्रतिबद्धता हुनुपर्दथ्यो । त्यसरी नीति आउनुपर्दथ्यो । तर, यहाँ त ठीक उल्टो भएको छ, खुलेआम लैजानुहोस भन्नेखालको नीति तथा कार्यक्रम देखिन्छ ।’
विदेशमा श्रममा रहेका लाखौं युावहरुले आफ्नो खुन–पसिना चुहाएर कमाएको पैसा नेपाली जनताको लागि हो कि भ्रष्टाचारीहरुको लागि हो रु भन्दै पूर्वमन्त्री साहले प्रश्न गरे । उनले भने,‘आज जो युवाले वैधानिक तवरले पैसा पठाउँछ, त्यसको पैसा घट्ने, अनि कालो धनसँग साट्दा त्यो पैसा बढेर गाउँमा पुग्ने, के सरकारलाई थाहा छैन रु नेपाली श्रमिक युवाहरु जतिको संख्यामा विदेशमा हुनुहुन्छ, त्यही अनुपातमा विदेशबाट रेमिट्यान्स आएको छैन भन्ने कुरा त सरकारलाई राम्रोसँग थाहा छ त। यहाँ त नेताज्यूहरुको छोराछोरीको लागि पैसा विदेशमा पठाउनुपर्ने छ, यहाँ लुटेको पैसा विदेशमा थुपार्नुपर्ने छ, त्यो मिलान गर्नको लागि जानी बुझिकन यसरी प्रावधान ल्याउने रु’ उनले नेपाल सरकारले वैधानिक तवरले पैसा पठाउनेहरुलाई कर हटाइदिने र थप सुविधा दिनुपर्ने सुझाव दिए ।
उनले नेपाल प्राकृतिक रुपमा धनी र स्वर्ग भएको बताए । उनले भने,‘प्रकृतिले नेपाललाई स्वर्ग दियो, तर नेताहरुको कुकर्मले आज यो नर्क बन्यो । प्राकृतिक स्रोत तथा साधनहरुको आम्दानी आज नेताहरुको स्वार्थमा प्रयोग भैरहेको छ । नेपालको झण्डै आधा भूभागमा जंगल छ । जंगलको रक्षा गर्न, संरक्षण गर्न, विकास गर्न नेपाल सरकारले झण्डै ३० अर्ब खर्च गर्छ, त्यो ३० अर्ब पैसा नेपाली जनताको खुन, पसिनाको पैसा हो । अनि आफ्नै जंगलको काठ किन्नुपर्दा सात समुन्द्रपारीको देशभन्दापनि महँगो तिर्नुपर्ने, जंगलको पैसा के भयो भनेर सोध्ने कि नसोध्ने रु जुन जंगलको लागि हामीले ३० अर्ब लगानी लगाउँछौं, त्यो जंगलबाट कति आम्दानी आउँछ रु’ उनले गाउँघरमा आजपनि दुई बिघामा बगैंचा लगाउँदा एउटा परिवार चल्ने आम्दानी हुने गरेको भन्दै जंगलको रक्षाको लागि अरबौंमा लगानी गर्दापनि एक अर्बपनि आम्दानी गर्न नसकेकोमा भने आलोचना गरे । आक्रोश पोख्दै उनले भने,‘के हाम्रो प्राकृतिक सम्पदा, साधन नेताहरु र उनीहरुको आसेपासेको लागि हो रु हाम्रो खुन अनि पसिना रु हामीले सोध्ने कि नसोध्ने रु’ नेपाल जलस्रोतमा पनि विश्वकै दोस्रो धनी देश भएको उल्लेख गर्दै नदीबाट कति आम्दानी आएको छ रु भनेर प्रश्न तेर्साए । उनले भने,‘आज पानी किनेर खानुपरेको छ, बालुवा, गिट्टी, ढुंगा किन्नुपरेको छ, नदी हाम्रो होईन रु’
उनले देशको जम्मा भूभागको २५ प्रतिशत जग्गा नेपाली जनताले उपयोग गरेको तथ्यांक पेश गर्दै साहले त्यो २५ प्रतिशतको उपयोगबाट झण्डै ६० प्रतिशतको जीवन निर्वाह भएको बताए । उनले भने,‘नेपालमा जति भूभाग छ, त्यसको २५ प्रतिशत नेपाली जनताले जोतिरहेका छन्, नेपाली जनताले जोत्दा झण्डै ६० प्रतिशतको जीवन चल्ने, जिडिपीमा एक तिहाई योगदान पनि हुने, तर नेपाल सरकारको मातहातमा रहेको ३० प्रतिशत जग्गा छ, त्यसको आम्दानी कति आयो रु हामीले सोध्ने कि नसोध्ने रु यो जग्गाबाट यति आम्दानी गर्छु वा उपयोग यसरी गर्छु भनेर प्रतिबद्धता आउनुपर्ने होईन र रु’ राज्यको लुटकारी चरित्रलाई नै बढावा दिनेगरि अहिलेको नीति तथा कार्यक्रम आएको उनको आरोप छ । उनले नेपालमा कर आतंकपनि उस्तै रहेको चित्रण गरे ।
उनले भने,‘करको कारणले हाम्रो उद्योग धराशयी हुँदैछ । व्यापार तथा व्यवसाय चौपट हुँदैछ । अरु देशको तुलनामा हाम्रो देशमा करका शीर्ष धेरै छन् । करको दर बढि छ, करको दायरा बढि छ । कर लिने निकाय र सरकार पनि बढि छन् । छिमेकी देशहरु भारत र चीन हेरौं, चीन र भारतमा सामान सस्तो किन हुन्छ रु भारत, चीन र नेपालबीच करको बारेमा तुलनात्मक अध्ययन गर्न भन्छु । त्यत्रो ठूलो देश भारत तर कर लिने सरकार जम्मा ३७ वटा छन् । अर्को ठूलो देश चीनमा पनि जम्मा ३४ वटा सरकार छन्, जसले कर लिन्छ । नेपालमा ७६१ वटा सरकार छन्, जसले कर लिन्छन् । भारतमा जम्मा १४ शीर्षकमा कर लिन्छन्, जबकी नेपालमा ४६ वटा शीर्षकमा कर लिन्छन् । केन्द्र सरकारले आयकर, भन्सारकरलगायत झण्डै २१ वटा कर लगाउँछ, प्रदेश सरकारले सवारी, मनोरञ्जनजस्ता कर झण्डै ८, ९ वटा कर लगाउँछ । स्थानीय तहले सम्पत्ति कर, मालपोत करजस्ता झण्डै १४ वटा कर छन् ।’
उनले खुला सिमानालाई वरदान बनाउन सकिनेपनि उपाय सुझाए । उनले सरकारले अघि सारेको अहिलेको नीति तथा कार्यक्रमले देशलाई बर्वाद बनाउने आरोप लगाए । उनले अहिलेको नीति तथा कार्यक्रमले जनतालाई निराशा बनाउने काम गरेको बताए । उनले नीति तथा कार्यक्रमलाई सिधै अस्विकार गर्न पनि सांसदहरुलाई आग्रह गरे ।