काठमाण्डौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकामा भारत र पाकिस्तानको प्रशंसा गरेका छन्। आइतबार ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु।
उनीहरूले सही समयमा बुद्धि र साहस देखाए र यो द्वन्द्व रोक्ने निर्णय गरे, नत्र लाखौँ निर्दोष मानिसहरूको मृत्यु र ठूलो क्षति निम्त्याउन सक्थ्यो।ट्रम्पले भारत र पाकिस्तानलाई यो ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न अमेरिका सक्षम भएकामा आफूलाई पनि गर्व महसुस भएको उल्लेख गरेका छन्।
आफ्नो पोस्टमा उनले भारत र पाकिस्तानसँगको व्यापार बढाउने कुरा पनि गरेका छन्। साथै ट्रम्पले भारत र पाकिस्तानसँग मिलेर कश्मीर मुद्दाको शान्तिपूर्ण समाधान खोज्न प्रयास गरिने पनि उल्लेख गरेका छन्।