धनगढी । स्थानीय सेवा ऐन ल्याउन माग गर्दै सुदूरपश्चिमका स्थानीय सेवाका कर्मचारी आन्दोलित भएका छन्। प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक प्रदेश सभाबाट पारित गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।
बैशाख २८ गतेदेखि विधेयक पारित नहुँदासम्म चरणबद्ध आन्दोलन गर्ने घोषणाअनुरुप आइतवार मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन्।
बिहान ९ बजेदेखि ११ बजेसम्म मुख्यमन्त्री कार्यालय अगाडि प्रवेशद्वारमा धर्नामा बस्ने संघर्ष समितिका संयोजक झलक दौल्यालले बताए। स्थानीय सेवा ऐन ल्याउन पटकपटक आग्रह गर्दा पनि नल्याइएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनले बताए।