काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसले आ–आफ्ना सांसदहरुलाई आज अनिवार्य रुपमा संसदमा उपस्थित हुनका लागि ह्वीप जारी गरेका छन् ।कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आ–आफ्ना पार्टी सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।
नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टी सांसदहरूलाई ह्वीप लगाएको छ । आर्थिक वर्ष २०८२र८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आजको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिने भएपछि कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टी सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।
‘वैशाख २८ गते ११ बजे बस्ने संसद् बैठकमा नीति तथा कार्यक्रम पारित गरिने हुँदा अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिन्छ,’ प्रमुख सचेतक घिमिरेले कांग्रेस सांसदहरूलाई पठाएको म्यासेजमा उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
२२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने र त्यसपछि आजकै बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची संसद् सचिवालय सूचनामार्फत सार्वजनिक गरिसकेको छ । सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले यसअघि नै नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न अनिवार्य उपस्थित हुन भन्दै आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ ।